
अछाम ।
अछामका स्थानीय तहले पहिलो पटक आफ्नै पाठ्यक्रम तयार गर्न थालेका छन् । स्थानीय विषयवस्तु समेटी कक्षा १ देखि ८ सम्म १ सय पूर्णांकको पाठ्यपुस्तक तयार गरेको चौरपाटी गाउँपालिकाले जनाएको छ ।
चौरपाटीका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीका अनुसार पाठ्यपुस्तकमा स्थानीय पर्यटकीय स्थल, रीतिरिवाज, रहनसहन, आदर सत्कार, भेषभूषा, मेला, पर्व, जात्रा, ऐतिहासिक ठाउँ, भौगोलिक अवस्था, वडा कार्यालय, आर्थिक, सामाजिक अवस्थिति, कृषि तथा त्यसको सम्भावनालगायतका विषय समेटिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । दफा ११ (ज) १८ मा स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण गर्न सकिनेछ ।

जोशीका अनुसार पाठ्यपुस्तक निर्माणका लागि ११ सदस्यीय कार्यदल बनाएर असोजबाट तयार पारिएको हो । ‘स्थानीय विज्ञ जनशक्ति, स्थानीय परिवेश र विषयवस्तु समेटेर पहिलो पटक पाठ्यपुस्तक तयार पारेका छौं । छाप्नको लागि छापाखानामा गइसकेको छ,’ उनले भने, ‘पाँच सदस्यीय सम्पादक समूह, भाषा सम्पादन समूहले अन्तिम रुप दिएको हो । अन्तमा कार्यपालिकाबाट पास भइसकेर अहिले छापाखानामा गइसकेको छ ।’ पाठ्यपुस्तक निर्माणका विभिन्न चरण पार गर्दा ८ लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ ।
ढकारी गाउँपालिकाले पनि ४४ विद्यालयका कक्षा १ देखि ३ सम्मका लागि पाठ्यपुस्तक छापेको शिक्षा शाखा प्रमुख खडक अधिकारीले बताए । ४ देखि ८ कक्षासम्मको पाठ्यपुस्तक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट नपुगेको उनको भनाइ छ । ‘आउँदो शैक्षिक सत्रमा ८ कक्षासम्मकै पाठ्यपुस्तक तयार पार्छौं,’ उनले भने, ‘अहिलेको सामाजिक अवस्थाको बारेमा आउदो पुस्ताले केही जानकारी पाउन नसक्ने अवस्था आइसकेको बेला यस्ता पाठ्यपुस्तकले विद्यार्थीमा सकारात्मक प्रभाव पर्छ ।’
जिल्लाका सबैजसो स्थानीय तहले पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक छपाइको काम गरिरहेको शिक्षा विकास एवं समन्वय इकाइ अछामका प्रमुख लक्ष्मण गिरीले बताए । उनका अनुसार सबै स्थानीय तहले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ लाई मुख्य आधार मानेर तयार गरेका छन् ।
पछिल्लो समय गाउँको संस्कार संस्कृतिलाई बालबालिकाले बिर्सन थालेको र मौलिक संस्कृति रीतिरिवाज हराउन थालेपछि पाठ्यक्रमका माध्यमबाट प्रवर्द्धन गर्न खोजिएको गिरीको भनाइ छ । केन्द्रबाट निर्माण भएर आएका पाठ्यपुस्तकमा देशैभरिको अवस्था एकै भएकाले बालबालिकाका लागि प्रभावकारी नहुने उनले बताए । कान्तिपुरबाट साभार
