
बैतडी: बैतडीमा नि:शुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ। यही फागुन ११ देखि २७ गतेसम्म १० ओटै स्थानीय तहका विभिन्न स्वास्थ्यचौकीहरुमा शिविरको आयोजना गर्ने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले जानकारी दिए।
सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालयले जिल्लाभरी शिविरको आयोजना गर्न लागेको हो। सन्तानको रहर पुगिसकेका दम्पतीहरुका लागि स्थायी बन्ध्याकरण र लामो समयसम्म काम गर्ने अस्थायी परिवार नियोजनका साधनहरु निशुल्क रुपमा राख्ने कार्यका लागि शिविरको आयोजना गरिन लागेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए।

शिविरमा महिलाहरुको स्थायी बन्ध्याकरण मिनिल्याप र पुरुषहरुको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए।

यस्तै शिविरमा लागि ५ बर्षका लागि इम्पलान्ट र १० बर्षका लागि आइयुसीडी समेत राखिने भट्टले जानकारी दिए। अनुभवी चिकित्सकसहितको टोलीले शिविरमा सेवा दिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। यही फागुन ११ गते सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने फागुन १३ गते पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ।
यस्तै फागुन १५ गते पुर्चौंडी नगरपालिकाको कुवाकोट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। फागुन १७ गते शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्र, फागुन १८ गते पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्यचौकी, फागुन २० गते मेलौली नगरपालिकाको सलेना स्वास्थ्यचौकी र फागुन २१ गते पाटन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविरको आयोजना गरिने बताइएको छ।
यस्तै फागुन २२ गते सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, फागनु २३ गते सुर्नया गाउँपालिकाको वासुलिङ्ग स्वास्थ्यचौकी, फागुन २४ गते दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, फागुन २५ गते दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी र फागुन २७ गते डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।
स्थानीयस्तरमै परिवार नियोजनका सेवाहरु उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएकाले आ–आफ्नो पायक पर्ने स्थानमा गएर सेवा लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। मिनिल्याप गर्न चाहने महिलाहरुले शिविरमा आउँदा भोको पेट आउनुपर्ने र एकजना साथमा ल्याउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ।
