
धनगढी: कैलालीमा ‘टिम–११ संस्कार क्रिकेट लिग’ प्रतियोगिता आयोजना हुने भएको छ। चैत ३० गतेदेखि गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलले उक्त क्रिकेट लिगआयोजना गर्न लागेको हो।
प्रतियोगितालाई टिम–११ काठमाडौँले प्रायोजन गर्ने भएको छ। लगातार ८ वर्षसम्म धनगढीमा लिटल फ्लावर प्रिमियर लिग सफलतापुर्वक सम्पन्न गरेपश्चात अब स्याउले बजारमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक रामचन्द्र शाहीले जानकारी दिए।


उनले स्याउले बजारलाई खेलको माध्यमबाट विश्वभर चिनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए। १० दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १११ रुपैया र उपविजेताले नगद रु. ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने शाहीले बताए ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. ५ हजार ५५५ तथा उत्कृष्ट बलर, ब्याटर र उदयमान खेलाडीलाई नगद रु. ३ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिईने उनले बताए। प्रतियोगितामा सम्पुर्ण खेलका प्लेयर अफ द म्याचलाई नगद रु. १ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने भएको छ। तर फाइनल खेलको प्लेयर अफ द म्याचलाई नगद रु. २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइन्छ।
प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी दिँदै शाहीले प्रतियोगिता सम्पन्न गर्न कुल १५ लाख खर्च हुने अनुमान रहेको बताए। कुल १२ टिम सहभागी हुने प्रतियोगिताको दर्ता शुल्क रु. १२ हजार राखिएको छ।
