
अछामः अछाममा अटोरिक्साको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाहको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साँफेबगर–मंगलसेन सडक खण्डको रिडिकोट नजिक सडक पार गरिरहेको अवस्थामा शाहलाई अटोरिक्साले ठक्कर दिएर घाइते बनाएको थियो। घाइते भएलगत्तै शाहलाई नजिकै रहेको बयलपाटा अस्पतालमा पुगाइएको थियो।

उपचारको क्रममा शाहको मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका विशाल बोहरालाई नियन्त्रणमा लिइएको छ।
