
धनगढीः नेपाल मगर संघले आफ्नो स्थापना दिवस धनगढीमा भव्यताका साथ मनाउने भएको छ।
संघले आफ्नो ४३औं स्थापना दिवस यही फागुन १५ गते बिहीबार धनगढी उपमहानगरपालिका–५ तारानगरको थारु देउथानमा मनाउने भएको हो। संघले शनिबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको छ।


संघ कैलालीका अध्यक्ष दलबहादुर घर्तीमगरले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने निर्णय भएको बताए। उनले फागुन १५ गते बिहान ११ बजे धनगढीको चौराहा र गुरही चौकबाट विविध मौलिक झाँकीसहित धनगढी परिक्रमा गर्ने बताए।
साथै उनले दिउँसो १२ बजे कार्यक्रम स्थल तारानगरको थारु देउथानमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहबाट कार्यक्रम उद्घाटन हुने जानकारी गराए। संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कमलबहादुर पुन मगरले मगर समुदायको पहिचान र विभिन्न मागसहित यसवर्ष पनि स्थापना दिवस मनाउन गइरहेको बताए।
उनले राज्यको हरेक निकायमा मगर समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी, भाषिक समानता, सबै खाले विभेदको अन्त्यका लागि राज्यलाई दबाब दिने उद्देश्य सहित स्थापना दिवस मनाउने बताए। स्थापना दिवसको अवसरमा लिगलिगे दौड, नौमति बाजा, झाँक्री विधी, सारङ्गगी हाता, मारुनी नाच, भुमे नाच, पैसरी नाच, सोरठ्ठी नच, ख्याली नाचलगायतको सांस्कृतिक प्रस्तुति समेत रहने जनाइएको छ।
