Skin_Hospital_Dhn

आईजीपीमा वसन्त कुँवर नियुक्त

काठमाडौं ।
सिंहदरबारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन् ।

वर्तमान आईजीपी धिरज प्रताप सिंहले आज मध्यरातबाट अनिवार्य अवकाश पाउन लागेपछि सरकारले आजै नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको हो ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

२९ वर्षपहिले कुँवरले प्रहरी निरीक्षकमा पहिलो नम्बरमा नाम निकालेका थिए । त्यसपछि उनी कहिले पनि आफ्नो वरीयतामा अडिएनन् । डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा झन् झन् पछाडि धकेलिए । अवकाशको दुई वर्षपहिले भर्ना हुँदाको वरीयतामा फर्किएका कुँवर नेतृत्वको समेत बलियो दाबेदार बने ।

एसएसपी हुँदासम्म पछि परेका उनी डिआईजी बढुवामा एक नम्वरमा उक्लिएसँगै आईजीपीको दाबेदार बनेका थिए ।

भर्ना हुँदा पहिलो नम्बरमा भएका कुँवर डीएसपी हुँदा ६ नम्बरमा र एसपीमा १२ नम्बरमा पुगेका थिए । पछि एसएसपीमा ब्याचबाट १३औँ नम्बरमा पुगेका कुँवर डिआईजी बढुवामा भने एकैपटक १२ स्थान अगाडि आइपुगेका हुन् ।

एआईजी बढुवामा पनि उनले श्यामलाल ज्ञवाली, टेकप्रसाद राई, दिपक थापा र किरण बज्राचार्यलाई पछाडि पार्दै पहिलो नम्बरमा नै बढुवा भएका थिए । बढुवा भएका प्रहरी अधिकारीहरुले विहिबार मात्रै एआईजीको फूली लगाएका हुन् ।

सम्बन्धित
Loading...