Skin_Hospital_Dhn

बालिका सशक्तिकरण : नारादेखि वास्तविकतासम्म

  • इच्छा सिंह

बालिका सशक्तिकरण अर्थात बलिकाहरूलाई सशक्त बनाउन, उनीहरूलाई आत्मविश्वास, अधिकार र समाजमा अघि बढ़ने अवसर प्रधान गर्ने प्रक्रियालाई जनाउँछ। तर के हाम्रो समाजमा बालिकाहरूलाई एकछिन् छाडौँ, महिलाहरू आत्मविश्वासी छन् त? छन् भने कति छन्? हातमा गन्न सकिने जति?

किन बालिकाहरू सानैदेखि आफूलाई अरूभन्दा कमजोर ठान्छन्? किन उनीहरू सधैं तुलना गरिरहन्छन्? किन सोच्दैनन् कि ‘म पनि राम्रो छु?’ किन बुझ्दैनन् कि हरेक फूलको आफ्नै विशेषता हुन्छ? किन सधैं आफूलाई पछाडि राख्छन्?

हाम्रो समाजले बालिकाहरूलाई सानैदेखि ‘तिमी सहनशील हुनुपर्छ, तिमीले अरूलाई प्राथमिकता दिनुपर्छ, तिमी सौम्य र शालीन हुनुपर्छ’ भनेर सिकाउँछ। तर ‘तिमी सक्षम छौँ, तिमीले आफ्नो अधिकारको लागि बोल्नुपर्छ, तिमीले आफैंलाई प्राथमिकता दिनुपर्छ’ भन्ने कुरा सिकाइँदैन। यही सोचले गर्दा महिला सशक्तिकरणका कार्यक्रमहरू नारामा मात्र सीमित भइरहेका छन्, तर वास्तविक परिवर्तन आएको छैन।

हरेक वर्ष १६ दिने महिला सशक्तिकरण अभियान चलाइन्छ, तर के साँच्चै महिलाहरू सशक्त भएका छन्? यदि सशक्त भएका भए, आज नेपाली चेलीहरूले विदेशमा अन्याय सहेर आत्महत्या गर्नुपर्ने थिएन। जस्तै, ओडिशामा नेपाली छात्रा प्रकृति लम्सालले पटक–पटक इन्टरनेशनल रिलेसन अफिसमा उजुरी गर्दा पनि कुनै कडा कारबाही नभएकै कारण आत्महत्या गर्नुपर्‍यो। यदि उनलाई आत्म–विश्वासी बनाइएको भए, यदि उनले आफ्नो अधिकारको लागि अझ सशक्त रूपमा उभिनसक्ने वातावरण बनाइएको भए, उनको जीवन बच्न सक्थ्यो। यदि उनी आत्म–निर्भर हुन्थिन् भने, भ्रष्ट कर्मचारी वा समाजको दया र सहयोगको लागि कुर्नुपर्ने थिएन। उनी आफूलाई बचाउन सक्थिन्, प्रतिरोध गर्न सक्थिन्।

यस्ता घटना अब नदोहोरिऊन्। नेपाली चेलीहरूले कहिल्यै पनि कमजोर महसुस गर्न नपरोस्। त्यसका लागि महिला सशक्तिकरण भनेको केवल बचाउने प्रयास होइन, बलियो बनाउने प्रक्रिया हो। जब बालिकालाई सानैदेखि आत्म–निर्भर बनाइन्छ, आत्म–सम्मान गर्न सिकाइन्छ, तब उनीहरू कसैको सहारा खोजेर बस्नु पर्दैन।

उनीहरू स्वतन्त्र रूपमा आफ्नो निर्णय लिन सक्छन्, अन्यायको सामना गर्न सक्छन्, र आत्महत्याको सोच कहिल्यै आउँदैन। हामीले अब सोच बदल्नुपर्छ। महिला सशक्तिकरणका लागि नारा होइन, सही शिक्षा, सही अवसर र सही मानसिकता आवश्यक छ। जब हामी बालिकाहरूलाई विश्वास गर्छौं, उनीहरूलाई बोल्न दिन्छौं, अगाडि बढ्न प्रोत्साहित गर्छौं, तबमात्रै साँचो अर्थमा समाज परिवर्तन हुनेछ।

बालिका सशक्तिकरण : आत्मविश्वासको जग बाल्यकालमै राखौं

हामी बालिका सशक्तिकरणको कुरा गरिरहेका छौँ, तर के विद्यालयहरूमा नै बालिकाहरूको आत्मविश्वास बढाउने वातावरण छ?

मैले आफ्नै आँखाले देखेको छु—विद्यालयका महिला शिक्षकहरूले नै बालिकाहरूलाई अनुशासनको नाममा अपमान गर्ने, सानो कुरालाई ठूलो बनाउने, बालिकाहरूलाई अरू साथीहरूकै अगाडि लज्जित पार्ने गर्छन्। केवल कपाल अलिकति अगाडि झरेको कारणले भरिएको ग्राउन्डमा एउटी छात्राको कपाल भुत्ल्याइदिन्छन्, सार्वजनिक रूपमा झपार्छन्। यस्तो अवस्थामा त्यो बालिकाको आत्मविश्वास कहाँ पुग्ला?

बाल्यकाल भनेको सिक्ने समय हो, उमेर अनुसार हाँस्ने, खेल्ने, नयाँ कुरा सिक्ने, चब पभजष् बिष् नक्कल गर्ने समय हो। यही बेलामा यदि बालिकालाई सताइयो भने, उनीहरूको आत्मविश्वास उमेरभरि कमजोर हुन सक्छ। विद्यालय व्यवस्थापनलाई कसले बुझाइदिने कि आत्मविश्वास भनेको लुगा वा अनुशासनको सिमानामा होइन, सोच र स्वाभिमानमा आधारित हुनुपर्छ?

समय बदलिएको छ, अब केवल पहिरन र शैलीमा ध्यान दिने होइन, बालिकाहरूको आत्मसम्मान बचाउनेतर्फ शिक्षकहरूले ध्यान दिन जरुरी छ। परिवर्तन घरबाट सुरु हुनुपर्छ, विद्यालय र कलेजमा निरन्तरता पाइरहनुपर्छ।

समाजकै सोच परिवर्तन गर्न धेरै समय लाग्न सक्छ, तर यदि हामी अहिले नै बालिकाहरूको आत्मविश्वास जगाउने काम सुरु गर्छौं भने, भोलि समाज परिवर्तन भएको देख्न सकिन्छ। त्यसैले, आजैबाट सुरुवात गरौं।

बालिकालाई सानैदेखि आत्म–निर्भर बनाऔं, उनीहरूको आत्मसम्मान जोगाऔं, आत्मविश्वास बढाऔं। शिक्षकहरूलाई अनुरोध छ—अनुशासन सिकाउनुहोस्, तर आत्मसम्मान तोड्ने गरी होइन। बालिकालाई गल्ती सुधार्ने मौका दिनुपर्छ, लज्जित बनाउने होइन। जब समाजकै सोच बदलिन्छ, तबमात्र वास्तविक सशक्तिकरण सम्भव हुनेछ।

लेखक सिंह काठमाडौंमा शिक्षण गर्छिन्।

सम्बन्धित
Loading...