
धनगढी ।
मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । आज (शुक्रबार) भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लवले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

धनगढी रंगशालामा आज (शुक्रबार) भएको खेलमा विदेशी टोली एभिनरलाइ कोन्फोरले खेलको आठौं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाइ अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए । एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई सेमिफाइनको यात्रा तय गराए । उनले खेलको ६६ औं र ७२ औं मिनेटमा गोल गरेका थिए ।

एभिनरले अब बागमती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच हुने खेलको विजेतासंग खेल्ने छ । शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुने छ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
