Skin_Hospital_Dhn

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि सुरु हुँदै

काठमाडौं: नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु गर्दैछ । झापाको कचनकवलबाट सुरु हुने अभियान चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने माओवादीले जनाएको छ ।

अभियान सुरु गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ । आइतबार राति नेताहरू कार्यकर्ता र सर्वसाधारणको घरमा बसेका थिए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्जित तामाङले बताए ।

‘तराई–मधेस जागरण अभियान टोलीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायत छन् । माओवादीको जिल्ला र प्रदेशका नेताहरु पनि रहने छन् ।

माओवादीले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरि कार्यक्रम गर्ने भन्दै अभियान संचालन गर्न लागेको बताएको छ । अभियानका क्रममा सरकारले गरेका गलत कामको विरोध गर्ने, जनतालाई सचेत बनाउने, आफू सरकारमा हुँदा गरेका राम्रा काम जनतासमक्ष लैजाने माओवादी केन्द्रको तयारी छ ।

यसैबीच, प्रचण्डसहित माओवादी नेताहरूले आज बिहान मर्निङवाक गरेका छन् । गत असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि देश दौडाहा थालेका प्रचण्ड प्रायः नेताहरूलाई लिएर मर्निङवाकमा निस्कने गरेका छन् । सोमबार प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरे ।

दुई सय बढी नेता कार्यकर्ताको साथमा प्रचण्डले बिहान ५ः३० देखि ७ः३० सम्म दुई घण्टामा साढे ६ किलोमिटर यात्रा गरेका छन् ।

सम्बन्धित
Loading...