
धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकाले धनगढीस्थित फाप्लामा सम्पन्न तेस्रो संस्करणको एसपीए कैलाली प्रिमियर लिगको उपाधि जितेको छ।
बुधबार भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भीमदत्तले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै भिमदत्तले नगद २ लाख जितेको छ। उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ।

भीमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे।
बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले। भीमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए। पुनर्वासका लागि भोजराज भट्टले ३ विकेट लिएपनि टिमलाई जिताउन भने सकेनन्। कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो। पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बसन्तसिंह कार्कीले आक्रामक ब्याटिङ गरे। ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले।
त्यस्तै कप्तान विपिन रावलले ३८, सुवास ऐरले १८, नवयुग बस्नेतले १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउट भए। भीमदत्तका लागि साजन बिटालु,किरन चन्द, सन्तोष भट्ट र समिर बिष्टले समान एक एक विकेट लिए।
प्रतियोगितामा भिमदत्त नगरपालिका अरुण ऐरी सर्वोकृष्ट खेलाडी भए। उनले नगद २५ हजार प्राप्त गरे। उनी दुई खेलमा प्लेर अफ दि म्याच भएका थिए भने प्रतियोगितामा उनले १० विकेट लिएका थिए। पुर्नवास नगरपालिका दिपक बोहोरा उत्कृष्ट ब्याटर भए। उनले नगद १५ हजार पाए। उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए।
त्रिवेणी नगरपालिकाका दिपक टमट्टा उत्कृष्ट बलर भए। उनले पनि नगद १५ हजार प्राप्त गरे। उनले प्रतियोगितामा १० विकेट लिएका थिए धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए। उनले नगद १० हजार प्राप्त गरे।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले पुरस्कार वितरण गरिन्। जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रक विष्टको अध्यक्षतामा भएको समापन समारोहमा प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघका पदाधिकारी सहितका क्रिकेट प्रेमीहरुको सहभागीता रहेको थियो।
