Skin_Hospital_Dhn

हिउँदे वर्षा नहुँदा बैतडीका कृषकहरू निराश

बैतडीः जिल्लाका कृषकहरू हिउँदे वर्षा नहुँदा निराश भएका छन्। बर्खायाममा समेत वर्षा नहुँदा बाली उत्पादनमा घाटा व्यहोरेका बैतडीका कृषकहरू हिउँदे वर्षा नहुँदा झन निराश भएका छन्।

मध्य फागुनसम्म पनि जिल्लाको अधिकांश पाखो जमिनमा गहुँ उम्रिन पाएको छैन। पाटन नगरपालिका–१ साकारका गणेश भट्टराईले गत असोजयता पानी नपर्दा कृषकले ठुलो समस्या भोग्नुपरेको दुःखेसो सुनाए।

सिँचाइ सुविधा नहुँदा बैतडीलगायत सुदूरपश्चिमका अधिकांश पहाडी क्षेत्रमा आकाशे वर्षाको भरमा खेती लगाउनुपर्ने बाध्यता छ। नियमित वर्षा नभएको वर्ष खेत बाझै रहने गरेको दशरथचन्द नगरपालिका–९ का कृषक देवदत्त जोशी बताउँछन्।

हिउँदेयामको मुख्य बाली गहुँ खेतीका लागि असोजदेखि पानी परेको छैन। यहाँका अधिकांश खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा प्रत्यक वर्ष कृषकले ठूलो घाटा व्यहोर्नुपरेको छ। अधिकांश पाखो खेतमा फागुन दोस्रो हप्तासम्म गहुँ उम्रिन नपाएपछि आफूहरू चिन्तित बनेको पाटन नगरपालिका–१० का कृषक धर्मराज भट्टले बताए।

पसाउने समय नजिकिँदासम्म पनि गहुँका बोट नउम्रेपछि खाद्यान्नको अभाव हुन सक्ने चिन्तामा रहेको उनले बताए। यस्तै अवस्था रहने हो भने गहुँ काट्नुको सट्टा पशुलाई खुवाउन नल (पराल) पनि नहुने पाटन नगपालिका ३ का कृषक रामदत्त भट्टले बताए। सिँचाइ सुविधा भएको जग्गामा समेत गहुँका बोट फस्टाउन नसकेको उनले बताए।

बैतडीमा मुख्य हिउँदेबाली गहुँ १२ हजार दुई सय हेक्टर जमिनमा खेती गरिँदै आएको छ। गत वर्ष २२ हजार दुई सय मेट्रिक टन गहुँ उत्पादन भएको भए पनि यो वर्ष उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले बताए।

उनका अनुसार यो वर्ष धान, मकै र दालबालीको उत्पादनमा ३५ प्रतिशतले कमी आएको थियो। यसबर्ष मुख्य दाल बाली भट्मासको उत्पादनमा कमी आएको दोगडाकेदार गाउँपालिका–२ का मानबहादुर भाटले बताए।

सिँचाइको अभाव, जङ्गली जनावरले क्षति गर्नेलगायतका कारणले खाद्यान्न उत्पादनमा कमी हुँदै गएको कृषि प्राविधिकहरू बताउँछन्। जिल्लामा खेतीयोग्य जमिन ३१ हजार चार सय ८५ हेक्टर छ, जसमध्ये २० हजार पाँच सय ६० हेक्टर अथवा ६५ प्रतिशत मात्रै खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख जोशीले बताए।

बैतडीमा प्रतिपरिवार ०.६ रोपनी खेतीयोग्य जमिन रहेको उनले जानकारी दिए। बैतडीमा वार्षिक अपुग खाद्यान्न एक लाख ६६ हजार मेट्रिक टन रहेको जोशीले बताए। बैतडीमा पछिल्लो तीन वर्षयता उत्पादकत्व स्थिर रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ।

सम्बन्धित
Loading...