
बझाङ ।
सुदूरपश्चिम प्रदेश सरकारको १६ लाख लागतमा २०७६ साल जेठ महिनामै निर्माण सम्पन्न भएको बर्थिङ सेन्टर अहिलेसम्म संचालन नहुदा जयपृथ्वी नगरपालिका वडा न. २ का सुत्केरी महिलालाई समस्या भएको छ । करिब २ हजार जनसङ्ख्या रहेको जयपृथ्वी नगरपालिका २ मा बर्थिङ सेन्टर संचालन नहुँदा सुत्केरी सेवा लिन महिलालाई जिल्ला अस्पतालमा लैजानु पर्ने बाध्यता छ ।
आधरभुत स्वास्थ्य सेवा केन्द्र र सुत्केरी गराउने दुई जना स्वास्थकर्मी भए पनि बर्थिङ सेन्टर संचालन नहुँदा सुत्केरी हुने महिलालाई समस्या हुने गरेको स्थानीय महिलाहरू बताउछन् ।

जयपृथ्वी नगरपालिकाले बर्थिङ सेन्टर सञ्चालन गर्न दुई जना स्वास्थ्यकर्मीको व्यवस्था गरेपनि वडा अध्यक्षले बर्थिङ सेन्टर संचालन गर्नमा चासो नदिएपछि बर्थिङ सेन्टर संचालन गर्न नसकिएको आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज विजय मलासीले बताए ।

भौतिक सुविधा हुदा हुदै पनि नीतिगत रूपमा निर्णय नभएपछि बर्थिङ सेन्टर सञ्चालन नभएको उनको भनाइ छ । नगरपालिका लाई पनि यस बारेमा आफुहरूले जानकारी गराइसकेको उनले बताए ।
मोर्तोली आधरभुत स्वास्थ केन्द्रमा प्रत्येक महिना नयाँ तीन जना सहित कम्तीमा १० जना महिलाले नियमित गर्भ परीक्षण गर्ने गरेको अ.न.मि. बिनिता ओलिले बताइन् । उनले ती सबै महिलाहरुलाइ सुत्केरी गराउनको लागि भने जिल्ला अस्पताल सिमखेत लैजानु पर्ने बाध्यता रहेको बताईन् ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा परिभाषित गरेको छ। संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ।
यो हक कार्यान्वयनका लागि विभिन्न ऐन÷नियम लागू भएका छन् । तिनैमध्येको एक हो—सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन—२०७५ उक्त ऐनको दफा ५ र ६ मा गर्भवती सेवा प्राप्त गर्ने र प्रसूति सेवा दिनुपर्ने व्यवस्था छ।
