
धनगढी ।
सुदूरपश्चिम प्रदेशका जनसंख्या २६ लाख नाघेको छ । केन्द्रीय तथ्यांक विभागले हिजो (शुक्रबार) सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३ पुगेको हो ।
राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ, डोटी, बैतडी र डँडेल्धुरामा पछिल्लो दश वर्षको अवधिमा जनसंख्या वृद्धिदरमा ह्रास आएको छ ।

जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक रहेको अछाममा यो दर एक दशमलव १३ प्रतिशत रहेको छ । अछाममा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५७ हजार ४७७ जनसंख्या रहेकोमा दश वर्षको अवधिमा अर्थात् २०७८ सालसम्म २८ हजार छ सय २५ ले कमी आएर दुई लाख २८ हजार आठ सय ५२ मा झरेको छ ।
त्यस्तै, बझाङमा जनसंख्याको वार्षिक वृद्धिदर शून्य दशमलव ३ ले ऋणात्मक रहेको छ भने डोटीमा शून्य दशमलव ३२, बैतडीमा शून्य दशमलव ३४ र डडेल्धुरामा शून्य दशमलव १७ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।
२०६८ सालको राष्ट्रिय जनगणनामा देशभरि २७ वटा जिल्लामा जनसंख्या को वार्षिक वृद्धिदर ऋणात्मक रहेको थियो भने २०७८ सालको जनगणनामा यो संख्या ३४ पुगेको छ ।
प्रदेशको बझाङ जिल्लामा २०६८ सालको जनगणनाअनुसार एक लाख ९५ हजार एक सय ५९ जनसंख्या रहेको थियो भने २०७८ सालको जनगणना नतिजामा जनसंख्या वृद्धिदर घटेर एक लाख ८९ हजार ८५ मा झरेको छ ।
त्यस्तै, डोटीमा २०६८ सालमा दुई लाख ११ हजार सात सय ४६ जनसंख्या रहेकोमा २०७८ सालसम्म आइपुग्दा दुई लाख चार हजार आठ सय ३१ मा झरेको छ ।

बैतडीमा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५० हजार आठ सय ९८ जनसंख्या रहेकोमा २०७८ सालको जनगणना नतिजाअनुसार बैतडीमा जनसंख्या वृद्धिदरमा कमी आएर दुई लाख ४२ हजार एक सय ५७ मा झरेको छ ।
डडेल्धुरामा पनि दश वर्षको अवधिमा दुई हजार चार सय ९२ जनसंख्या घटेको जनगणनाको नतिजाले देखाएको छ । डडेल्धुरामा २०६८ सालमा एक लाख ४२ हजार ९४ जनसंख्या रहेकोमा २०७८ मा घटेर एक लाख ३९ हजार छ सय दुईमा झरेको छ ।
सुदूरपश्चिम प्रदेशका प्रायः पहाडी जिल्लाहरूबाट तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसाईसराइको तीव्र चाप रहेको राष्ट्रिय जनगणना, २०७८ को नतिजाले पनि पुष्टि गरेको छ ।
कैलालीमा भने वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव ४८ पुगेको छ । यससँगै कैलालीको जनसंख्या नौ लाख चार हजार छ सय ६६ पुगेको छ ।
त्यस्तै, कञ्चनपुरको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव २५ रहेको छ । यससँगै कञ्चनपुरको जनसंख्या कञ्चनपुरको जनसंख्या पाँच लाख १३ हजार सात सय ५७ पुगेको छ ।
प्रदेशको हिमाली जिल्ला भए पनि बाजुरा र दार्चुलामा भने जनसंख्या वृद्धिदर घनात्मक रहेको जनगणनाको नतिजाले देखाएको छ । बाजुरामा वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव २५ तथा दार्चुलामा शून्य घनात्मक रहेको छ ।
बाजुराको जनसंख्या एक लाख ३८ हजार पाँच सय २३ र दार्चुलाको जनसंख्या एक लाख ३३ हजार तीन सय १० पुगेको छ ।
तर सुदूरपश्चिम प्रदेश भने नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौं प्रदेश बनेको छ । २०६८ सालको जनगणनामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ थियो । पछिल्लो १० वर्षको अवधिमा प्रदेशमा एक लाख ४२ हजार दुई सय ६६ (५ दशमलव २७ प्रतिशत) ले जनसंख्यामा बृद्धि आएको तथ्यांकमा उल्लेख छ ।
