
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्।

आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो। साइकलमा सामान बाध्ने रबरले पासो लगाएर झुन्डिएको अवस्थामा देवल फेला परेको उनले जानकारी दिए।
यसैगरी चौधरी झुन्डिएको घटनास्थलभन्दा करिब १५/२० मिटर टाढा भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको जनाइएको छ। बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी बोहराले जानकारी दिए।
