Skin_Hospital_Dhn

पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा रोस नियुक्त

काठमाडौँ: अखिल नेपाल फुटबल संघले अस्ट्रेलियाका म्याट रोसलाई पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक बनाएको छ।

म्याटले एन्फा महासचिव किरण राईको उपस्थितिमा एक वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। एन्फाले ४ सय ५ जनाको आवेदन परेको र त्यसबाट २० जनाको सर्ट लिस्ट गरेको थियो। जहाँबाट १० हुँदै ५ जनाबाट अन्तिममा म्याटको नाम छनोट गरेको हो।

यसअघि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेससँगको सम्झौता सकिएपछि एन्फाले उनीसँग सम्झौता थप गरेको थिएन। त्यसपछि एन्फाले नयाँ प्रशिक्षकको आवेदन गरेको हो।

नयाँ प्रशिक्षकका लागि एन्फाले प्रो लाइसेन्ससहित व्यवसायिक स्तरको अनुभव बोकेको र कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने बताएको थियो। नेपालले म्याटको नेतृत्वमा अब एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ‘एफ’ का खेल खेल्ने छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसियासँग भिड्ने छ। जसअन्तर्गत नेपालले मार्च २५ मा होम म्याच मलेसियासँग खेल्ने तय छ।

एसियन कप छनोटमा मार्चमा मलेसियासँग होम म्याच खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने कार्यतालिका रहेको छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।

सम्बन्धित
Loading...