
धनगढी: ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गते आयोजना हुने भएको छ।
छैठौं संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१ आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।

‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उनले भने, ‘छैटौं संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौं। यसपालि खुल्ला मैदानमा अवार्डलाई आयोजनाको तयारीमा छौं।’
अवार्डमा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ।
मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्
अवार्डलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले साथ दिएको छ। अवार्ड कार्यक्रमलाई हरेक वर्ष प्रवर्द्धन गर्दै आएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यसपालि पनि मुख्य प्रवर्द्धक भएर साथ दिएको हो।
मुख्य प्रवर्द्धनसम्बन्धी सम्झौता पत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष पाठकले हस्ताक्षर गरे। सदस्य सचिव सिंहले खेलकुद पत्रकार मञ्चसँग मिलेर खेलाडी र प्रशिक्षकको मनोवल बढाउने काम भइरहेको बताए।
