Skin_Hospital_Dhn

नेपाल पुलिस क्लव खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

धनगढी ।
विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लब छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाइनलमा पुगेको छ । प्रतियोगिताको तेस्रो दिन आज भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई ३–० गोल अन्तरले पेनाल्टी सुट आउटमा पराजित गरेको हो ।

धनगढी रङ्गशालामा आज (शनिवार) भएको खेलमा पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले खेलको आठौँ मिनेटमा अग्रता लिएको थियो । पुलिसका भोला सिलवालले ४२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको हो ।

पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीको पेनाल्टी सफल भयो । विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो । पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । भोलि (आइतबार) क्वाटर फाइनलको खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारबिच प्रतिस्पर्धा हुने छ ।

यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिता १८ गतेसम्म चल्ने छ ।

सम्बन्धित
Loading...