Skin_Hospital_Dhn

डडेल्धुरामा कम उमेरमै सुत्केरी हुनेको संख्या बढ्दै

डडेल्धुरा: डडेल्धुरामा कम उमेरमा सुत्केरी हुनेको संख्यामा वृद्धि भएको देखिएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्म कुल १,२६४ जना महिला सुत्केरी भए, जसमा १५४ जना महिलाको उमेर २० वर्षभन्दा कम छ ।

यो संख्या लगभग १२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । डडेल्धुराको सात स्थानीय तहमा विभिन्न स्थानबाट २० वर्ष मुनिका महिलाले सुत्केरी गरेका छन् ।

नवदुर्गा गाउँपालिकाका ७ जना, अमरगढी नगरपालिकाका ८३, अजयमेरु गाउँपालिकाका ९, भागेश्वर गाउँपालिकाका २, परशुराम नगरपालिकाका ३५, आलिताल गाउँपालिकाका ११ र गन्यापधुराका ७ जना गरी कुल १५४ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गरेको सूचना अधिकारी जनक चन्दले जानकारी दिए ।

कम उमेरमा बच्चा जन्माउँदा आमा र नवजात शिशुको जीवनमा गम्भीर जोखिम उत्पन्न हुन्छ । महिला कम उमेरमा सुत्केरी हुने क्रम नरोकेका कारण मातृशिशु मृत्युदर घटाउन चुनौती बनिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

सूचना अधिकारी चन्दले २० वर्ष मुनिका महिलाले सुत्केरी गर्ने घटनालाई शून्यमा झार्न सरकारी र अन्य निकायहरूलाई अझ बढी मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सम्बन्धित
Loading...