
धनगढी: कैलालीको धनगढीमा सीप तथा रोजगार मेला जारी छ। धनगढी उपमहानगरपालिकाको आयोजनामा ८ फागुनदेखि सञ्चालन भएको मेलामा २९ विधामा तालिम चलिरहेका छन्।
सुदूरपश्चिम प्रदेशका ३९ स्थानीय तहबाट एक हजार ४० जना सहभागी भएको सीप तथा रोजगार मेलामा उपमहानगरपालिकाले दैनिक बिहान र दिउँसो गरेर दुई चरणमा तालिम प्रदान गरिरहेको छ। सीप तथा रोजगार मेलामा सहभागी भएर तालिम लिइरहेका युवाहरू उत्साहित छन्।

उपमहानगरपालिकाले यसअघिदेखि नै आवद्ध रहेको विधामा सीप सिकाइरहेकाले निखारता ल्याउने र त्यसले आत्मानिर्भर बनाउने उनीहरूको विश्वास रहेको छ। एडभान्स ब्युटिसियनको तालिम लिइरहेकी धनगढी उपमहानगरपालिका–५ की आयुशा वाग्लेले इच्छा भएर पनि सीप सिक्न पाएकी थिइनन् तर उपमहानगरपालिकाले सीप तथा रोजगार मेला आयोजना गर्ने कुरा थाहा पाएपछि फारम भरिन् । छनोटमा परेपछि अहिले निःशुल्क तालिम लिइरहेकी छन्।
रोजगार मेलामा दिउँसोको सिफ्टमा तालिम लिइरहेकी वाग्लेले एडभान्स तहको तालिम निःशुल्क लिने अवसर पाउँदा खुसी लागेको बताउँदै तालिम निकै प्रभावकारी भइरहेको सुनाइन् । ‘हामी जस्तो हाउस वाइफलाई जागिर गर्न गाह्रो हुन्छ । ब्युटिसियनमा काम गर्ने र तालिम लिने ठूलो इच्छा भएर पनि आर्थिक अभावका कारण डिप्लोमा तहको तालिम लिन पाएको थिएन,’ उनले भनिन्, ‘तर धनगढी उपमहानगरपालिकाले निःशुल्क तालिम दिइरहेकाले धेरै खुसी लागेको छ । सिकाइ पनि प्रभावकारी छ । अब यहाँ सिकेको सीपलाई आफूमा मात्र सीमित नराखेर अरुलाई पनि सिकाउनेछु ।’ उनी अहिले एडभान्स ब्युटिसियन अन्तरगत नेल र मेकअपको तालिम लिइरहेकी छन् ।
धनगढी–४ का लवराज भट्ट पनि रोजगार मेलामा कम्प्युटर हार्डवयर तथा नेटवर्किङसम्बन्धी तालिम लिइरहेका छन् । दैनिक चार घण्टा तालिम लिइरहेका भट्टलाई यहाँ सिकेको सीपले आत्मानिर्भर बनाउने विश्वास लागेको छ । ‘मैले दैनिक चार घण्टा कम्प्युटर हार्डवयर तथा नेटवर्किङसम्बन्धी कक्षा लिइरहेको छु । हार्डवयर तथा नेटवर्किङसम्बन्धी तालिम लिने इच्छा पूरा भएको छ,’ भट्टले भने, ‘बेरोजगार भएका कारण पनि सीप सिकेर आत्मानिर्भर भइन्छ कि भन्ने अपेक्षा पनि हो । अब सीपकै माध्यमबाट आयआर्जन पनि गर्न सकिन्छ भन्ने लागेको छ ।’

डोटीका सुवास बोहरा पनि लेखा व्यवस्थापनसम्बन्धी तालिम लिइरहेका छन् । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत बोहराले सैद्धान्तिक रुपमा सिकेका कुराहरुलाई प्रयोगात्मक कक्षाको माध्यमबाट सिक्ने अवसर प्राप्त भएको बताए । ‘तालिमले आफूहरूलाई सक्षम बनाउने विश्वास गर्दै बोहराले सहजै रोजगारी समेत पाइने अपेक्षा गरेका छन् । क्याम्पसमा धेरै सैद्धान्दिक कुराहरु पढेका छौँ । तालिममा प्रयोगात्मक रुपमा सिक्ने अवसर पाएका छौं,’ बोहराले भने, ‘सीप सिकेपछि कुनै पनि संघसंस्थामा काम गर्न सजिलो हुन्छ । सक्षम हुन्छौं भन्ने विश्वास गरेका छौँ ।’
अटोक्याडको तालिम लिइरहेका बझाङको थलारा गाउँपालिका-६ का एलिस चौहानले पनि तालिम सिकाइ प्रभावकारी भएको बताउँदै सीप निखारिएपछि सहजै रोजगारी पाउने विश्वास गरेका छन् । ‘यो तालिममा सहभागी भएर प्रभावकारी सिकाइ भइरहेको छ । यसपछि जे पनि गर्न सकिन्छ । कतै कन्सल्टेन्सीतिर जागिर गर्न मिल्यो,’ उनले भने, ‘स्वयंमले पनि अरुलाई तालिम दिन सकिन्छ नी । आत्मानिर्भर बन्न पाइन्छ भन्ने विश्वास लागेको छ ।’
धनगढीकै सिताकुमारी कुँवर ब्युटिसियन सम्बन्धी प्रशिक्षक पनि हुन् तर उपमहानगरपालिकाले सञ्चालन गरेको सीप तथा रोजगार मेलामा भने उनी प्रशिक्षार्थीका रुपमा सहभागी छिन् । खासगरी हेयर कटिङ र हेयर डिजाइनिङ सम्बन्धी तालिम लिइरहेकी कुँवरले सिजरलाई अहिलेसम्म एउटा कैचीका रुपमा मात्रै बुझेको तर तालिममा सहभागगी भएपछि धेरै कुरा सिक्ने मौका मिलेको बताइन् । आफू प्रशिक्षक समेत भएकाले रोजगार मेलामा सिकेका कुराहरु अरुलाई पनि सिकाउने योजना उनको छ ।
‘सिकाउने तरिका राम्रो छ । पहिले अरु ठाउँ पनि सिकेको थिए तर यहाँ धेरै नै प्रभावकारी लाग्यो । सिजर एउटा कैची हो भन्ने थाहा थियो तर अहिले प्रत्येक कुरा सिकेका छौँ,’ कुँवरले भनिन्, ‘यो कक्षा नलिएको भए अवसर गुम्ने थियो जस्तो लाग्छ । मेरो आफ्नै ब्युटी पार्लर पनि छ । अब यहाँ सिकेको कुराहरु अरुलाई सिकाउछु ।’
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले युवा जनशक्तिलाई सीपयुक्त र स्वरोजगार बनाउने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरिएको बताए । उनले बेरोजगार युवालाई सीप सिकाउने योजना अन्तरगत सञ्चालन गरिएको मेलाको अवलोकन गरेर सुधार गर्नुपर्ने कुराहरुमा सुझाव दिन पनि आग्रह गरेका छन् ।
‘बेरोजगार युवालाई सीप सिकाउने योजना अन्तरगत सञ्चालन फागुन ८ गतेदेखि रोजगार मेला आयोजना गरेको छौं । मेलाको अवलोकनका लागि सबैलाई अनुरोध गर्दछु,’ हमालले भने, ‘विशेषगरि युवा साथीहरु मेलामा गएर अध्ययन गर्नुहोस् की अगामी दिनमा कुन कुन खालको तालिम आवश्यक छ । सुझाव दिनुहोस् । के-के कुरामा सुधार गर्नुपर्छ । त्यो सुझाव पनि दिनुहोस् ।’
हमालले विद्यार्थी, युवा र अभिभावक सबैलाई मेलामा निःशुल्क रुपमा तालिम सञ्चालन र अवलोकनको व्यवस्था मिलाएर सहभागी भएर अवलोकन गर्न सार्वजनिक अपिल गरेका छन् ।
