Skin_Hospital_Dhn

उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौँ ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आज (आइतबार)सम्म रहेको छ । निर्वाचन आयोगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेको थियो ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ।

आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। यसैगरी, आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ।

चितवन—२, बारा—२ र तनहुँ—१ मा उपनिर्वाचन हुन लागेको हो ।

चितवन—२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकतासम्बन्धी मुद्दामा उनको सांसद पद गुमेको थियो ।

बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए ।

आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने जनाएको छ।

सम्बन्धित
Loading...