Skin_Hospital_Dhn

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम : धनगढीमा पत्रकारसँग अन्तरक्रिया सम्पन्न

धनगढी: ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत धनगढीमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार, युरोपेली संघ र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा शुक्रबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

सुदूरपश्चिम प्रदेशमा गतवर्षदेखि ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु भएको थियो। कार्यक्रम अन्तर्गत लैङ्गिक समानता एवं महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। त्यसैक्रममा पत्रकारसँग पनि अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रममा लैङ्गिक समानता प्रवर्द्धन र हानिकारक अभ्यासहरूलाई चुनौती दिन मिडियाको महत्वका विषयमा युरोपेली संघका तर्फबाट वरिष्ठ कार्यक्रम प्रबन्धक शिव भण्डारीले प्रकाश पारेका थिए।

यसका साथै सशक्त महिला समृद्ध नेपाल, संयुक्त कार्यक्रम समन्वय इकाईकी कार्यक्रम संयोजक संगीता यादवले कार्यक्रमको लक्ष्य र अपेक्षित परिणामहरू, अहिलेसम्मका उपलब्धिहरू, २०२५ का मुख्य प्राथमिकताहरू र सहकार्यका सम्भावित क्षेत्रहरू तथा कार्यक्रमको वकालत प्रयासलाई समर्थन गर्न मिडियाको भूमिकाका बारेमा चर्चा गरेकी थिइन्।

लैङ्गिक समानता प्रवर्द्धनमा मिडियाको महत्वपूर्ण भूमिकाका बारेमा अरविन्दप्रसाद लेखकले कार्यक्रममा प्रकाश पारेका थिए। लैंगिकतामा आधारित हिंसाको रोकथाम, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरण, लैंगिक उत्तरदायी शासन र सामाजिकसँगै आर्थिक रुपमा सबल बनाउने उद्देश्यले ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुदूरपश्चिम प्रदेशमा सुरु भएको थियो।

कार्यक्रममा बोल्ने महिला पत्रकारहरूले क्षमतावान भएर काम गर्नका लागि गाह्रो नै हुने गरेको बताए। घरपरिवारबाट समेत त्यति धेरै सहयोग नपाएको उनीहरूको भनाइ थियो। यद्यपि पछिल्लो समयमा धेरै ठाउँमा महिलाहरूले नेतृत्व गरिरहेको उनीहरूले बताए। महिलाहरूलाई श्रम बजारमा ल्याउन जरुरी रहेको बताए।

महिला सशक्तिकरणका कुरा उठाइरहँदा महिलाहरूलाई राज्यमन्त्री, उपप्रमुख/उपाध्यक्षमा सीमित गरेको पनि कार्यक्रमका सहभागीहरूको तर्क थियो।

सुदूरपश्चिमका १० वटा स्थानीय तहमा परियोजना लागू छ । जसअन्तर्गत कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिका र दिपायल सिलगढी नगरपालिका, बझाङका दुर्गाथली, मष्टा र खप्तडछान्ना गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका र कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यक्रम लागू छ। अन्तरक्रिया कार्यक्रम कार्यक्रममा कैलालीका पत्रकारहरूको सहभागिता रहेको थियो।

सम्बन्धित
Loading...