Skin_Hospital_Dhn

एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई धनगढी–२ को साथ

धनगढी: ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले साथ दिएको छ। उक्त वडाले अवार्डलाई प्रवर्द्धकका रुपमा साथ दिएको हो।

प्रवर्द्धकसम्बन्धी सम्झौतामा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझा र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे। सम्झौतापछि वडाध्यक्ष ओझाले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताए।

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १ ले प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेको छ। यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ। चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ।

छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष शंकर बोहराले जानकारी दिए। उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने बोहराले जानकारी दिए।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ।

सम्बन्धित
Loading...