
नवलपरासी: पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन्।
आगलागीबाट सोही स्थानका इद्रिस अलीकी श्रीमती सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिए।


उनका अनुसार सतारुलको अनुहार, टाउको र हात जलेको छ भने निजामोदिनको दुवै हात र खुट्टा जलेका छन्, तैमुरदिनको भने सामान्य हात जलेको छ।
आज दिउँसो विद्युत्को मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पाँचजना दाजुभाइ इद्रिस अली, कसिम अलि, नुर महमद अलि, मो शेख आलम मियाँ, अफताव अलिको घर जलेको सूचना अधिकारी क्षेत्रीले बताए।
आगलागीबाट खद्यान, लत्ताकपडा, भाडा, बोइरल कुखुरा, चार थान मोबाइल, फर्निचरका सामान, गरगहना तथा नगद गरी २७ लाख २९ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए।
आगो बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रण लिइएको थियो।
