Skin_Hospital_Dhn

कैलालीमा सवारी दुर्घटनामा कमी

धनगढी ।
कैलालीमा सवारी दुर्घटनामा कमी आइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सार्बजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो समय कैलालीमा सवारी दुर्घटनामा कमी आइरहेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले गत तीन वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको बताए ।

उनका अनुसार जिल्लामा २०७७/७८ मा ३२७ सवारी दुर्घटनामा परेकोमा २०७८/७९ मा २६६ र चालु आर्थिक वर्ष २०७९/८० को अहिलेसम्म ९५ सवारी दुर्घटनामा परेको जानकारी दिए ।

२०७७/७८ मा ३२७ सवारी दुर्घटनामा ६९ जनाको ज्यान जाँदा २०७८/७९ मा २६६ सवारी दुर्घटना हुँदा ७६ जनाको ज्यान गएको छ । यस्तै चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म ९५ सवारी दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ।

अहिले धनगढी अत्तरिया ६ लेन सडकमा बत्ती जडान भएपछि दुई महिना यता कुनै पनि सवारी दुर्घटनामा नपरेको प्रहरी निरीक्षक जोहारीले बताए । जिल्लामा आएको दुई महिनामा आफूले यहाँको ट्राफिक व्यवस्थापनमा निकै चुनौती पाइएको बताए ।

सडक निर्माणाधीन अवस्थामा रहनु,मोहना अत्तरिया ६ लेन सडक खण्डमा पूर्वाधारको कमी, क्षमता भन्दा बढी अटो तथा ई—रिक्सा लगायतका समस्याले ट्राफिक व्यवस्थापनमा निकै चुनौती देखिएको उनले बताए ।

यी चुनौतीलाई समाधान गर्नको लागि विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम गर्ने,सचेतना कक्षा सञ्चालन,अन द स्पोट सचेतना,चालक यात्रुसँग एक मिनेट कार्यक्रम जस्ता कार्य योजना बनाई अघि बढेको समेत बताए ।

पछिल्लो तीन वर्ष यता राजश्वमा संकलनमा समेत कमी आएको छ । २०७७/७८ मा ७९ हजार ८९ सवारी कारबाहीमा पर्दा ४ करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएकोमा २०७८/७९ मा ४२ हजार सवारी कारबाहीमा २ करोड ३३ लाख ७८ हजार पाँच सय र चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म २८ हजार ४ सय ७७ सवारी कारबाहीमा परेकोमा १ करोड ६१ लाख २६ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित
Loading...