Skin_Hospital_Dhn

महिला सशक्तीकरणलाई जोड दिँदै धनगढी उपमहानगर

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलामा महिला सशक्तीकरणलाई जोड दिइएको छ। धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्रबहादुर महराका अनुसार सीप तथा रोजगार मेलामा एक हजार ४० जना सहभागी छन्।

जसमा पाँच सय ३६ जना महिला छन्। यो संख्या पुरुष सहभागीको भन्दा बढी हो। महिलाहरूलाई पनि स्वरोजगार बनाउनुपर्छ भन्ने उद्देश्यले पुरुषभन्दा महिलालाई बढी प्राथमिकता दिइएको बताइन्छ।

यसका साथै उपमहानगरपालिकाले महिलाहरूका लागि मंसिर १ गतेदेखि ‘शनिवारे महिला उद्यम मेला’ पनि सञ्चालन गरिरहेको छ। प्रत्येक शनिवार उक्त मेला लाग्ने गर्दछ । यसले घर बसेका बेरोजगार महिलालाई आम्दानीको अवसर जुटेको छ। मेलामा विभिन्न परम्परागत खाना तथा खाजाको परिकार बनाउन महिलाहरूले आम्दानी गरिरहेका छन्। हरेक क्षेत्रमा उपमहानगरपालिकाले महिला सहभागितालाई बढाउँदै लगेको देखिन्छ।

सीप तथा रोजगारमा उपमहानगरपालिकाले विभिन्न आठ वटा विधामा २९ प्रकारका तालिम सुदूरपश्चिमका नौ जिल्लाका एक हजार ४० जना युवालाई सीप तालिम प्रदान गरिरहेको हो । उनीहरू सुदूरपश्चिमका ३९ स्थानीय तहका हुन्।

तालिका लागि सुदूरपश्चिमका ८८ स्थानीय तहबाट आवेदन दिएका चार हजार आठ सय ३० जनामध्ये अन्तिम छनौटमा परेका एक हजार ४० जना युवा अहिले विभिन्न सीप सिकिरहेको रोजगार संयोजक महराले बताए। तालिम अवधि भर एक महिना सीप तालिम, पाँच दिन उद्यमशिलता तथा करिअर परामर्श तालिम र दुई दिन रोजगार मेला हुनेछ।

सीप तथा रोजगार मेलामा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई (बार्बर), एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम सञ्चालन भइरहेको छ।

यस्तै सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम सञ्चालन भइरहेको छ। उपमहानगरपालिकाले यही फागुन ८ गतेदेखि धनगढीको खुलामञ्चमा सञ्चालन गरेको मेला चैत १५ गतेसम्म चल्नेछ।

सम्बन्धित
Loading...