
धनगढीः कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको चुरे गाउँपालिका–५ निङलाडीस्थित भीमदत्त राजमार्गमा डोटीको दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


उक्त दुर्घटनामा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटी गम्भीर घाइते भएका थिए।
घाइते बोगटीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ।
उक्त जिपमा सवार अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खड्का, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खड्का र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद छन्।
घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
