
धनगढी: नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन्। उनी सोमबार बिहान धनगढी आउने कार्यक्रम तय भएको नेपाली काँग्रेस प्रदेश कार्यसमिति सुदूरपश्चिमले जनाएको छ।

प्रदेश सभापति बीरबहादुर बलायरका अनुसार देउवा सोमबार बिहान पौने ९ बजेको बुद्ध एयरको जहाजबाट धनगढी आउन लागेका हुन्। उनको स्वागतका लागि धनगढी विमानस्थलमा उपस्थित हुन काँग्रेस सुदूरपश्चिमले नेता–कार्यकर्तालाई आग्रह गरेको छ।

काँग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन्। सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठलगायतका नेताहरूको टोली यहाँ आउन लागेको बताइन्छ।
