
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ‘फारवेष्ट ट्राभल मार्ट २०२५’ लाई उपेक्षा गरेको आरोप लगाइएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी निजी क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले प्रदेश सरकारले फारवेष्ट ट्राभल मार्टलाई उपेक्षा गरेको आरोप लगाएका हुन्।
सुदूरपश्चिम प्रदेश पर्यटन महोत्सव २०८१ मूल समारोह समितिका संयोजक केशवदत्त पाण्डेयका अनुसार निजी क्षेत्रले मार्टलाई संयुक्तरूपमा आयोजना गर्नेगरी महोत्सव आयोजना गर्ने गरी नेपाल पर्यटन बोर्डसँग सम्झौता गरेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत पर्यटन मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाईमार्फत ‘प्रदेश पर्यटन महोत्सव २०८१’ आयोजना गर्नका लागि आर्थिक वर्ष २०८१/८२ को लागि रु.४० लाख बजेट विनियोजन गरिएको थियो। २०८१ माघ ४ गते उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा क्रियाशील सरोकारवाला पर्यटन व्यवसायीहरूको बैठकबाट पर्यटन तथा होटल व्यवसायी केशवदत्त पाण्डेयको संयोजकत्वमा पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्थाको प्रतिनिधित्व हुने गरी १० सदस्यीय मूल आयोजक समारोह समिति सर्वसम्मतरुपमा गठन गरिएको थियो।

समितिले विभिन्न तयारी बैठकहरू आयोजना गरी २०८१ चैत्र ४ गतेदेखि ६ गतेसम्म ‘सुदुरपश्चिम पर्यटन महोत्सव–२०८१’ सञ्चालन गर्ने योजना अनुरूप कार्य प्रारम्भ भइसकेको र मार्टलाई संयुक्त रूपमा आयोजना गर्नेगरी महोत्सव सञ्चालन गर्ने गरी नेपाल पर्यटन बोर्डसँग माघ ४ गते उक्त कार्यक्रमका लागि थप रु. ३० लाख रकम दिने सम्झौता समेत भइसकेको थियो। तर, २०८१ माघ २७ गते प्रदेश सरकारको अर्थ, विकास तथा प्राकृतिक स्रोत साधन समितिको बैठकले निजी क्षेत्रलाई समारोह समितिबाट बाहिर राखी प्रदेशसभा सदस्यहरूको संलग्नतामा सप्ताहव्यापी मेला आयोजना गर्ने प्रस्ताव अघि सारेको पाइएको पाण्डेयले बताए।
‘मुख्यमन्त्रीलाई मूल समारोह समितिको संयोजक बनाउने तथा प्रदेशसभा सदस्यहरूलाई उपसमितिको नेतृत्व गर्नेगरी निर्देशन गरिएको पत्र प्राप्त भएको छ। कोरोना महामारीपछि धराशायी यी बनेको पर्यटन व्यवसाय केही सुधार हुँदै गएको वर्तमान अवस्थामा प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा यस्ता प्रकारको निर्देशन दिई व्यवसायीलाई उपेक्षा गरी पर्यटन प्रवद्र्धनमा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने गैरजिम्मेवार निर्णयहरू गरिएको पाइएको छ,’ उनले भने, ‘यस कदमले निजी क्षेत्रलाई उपेक्षा गर्दै पर्यटन प्रवद्र्धनमा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने स्पष्ट देखिन्छ।’
सबै सरोकारवाला व्यवसायीहरूले पर्यटनमन्त्री, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र वर्तमान मुख्यमन्त्रीसँग प्रत्यक्ष भेटगरी सुदूरपश्चिम पर्यटन महोत्सव–२०८१ सम्बन्धी जानकारी गराई सुझाव समेत लिएको पाण्डेयले बताए। तर, प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुको सट्टा विभिन्न बहानामा निरुत्साहित गर्ने तथा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने निर्णयहरू लिएकोप्रति आफूहरूको गम्भीर आपत्ति रहेको व्यवसायीहरूको भनाइ छ। उनीहरू सो कार्यको घोर भत्र्सना पनि गरेका छन्।
प्रेस विज्ञप्ति–
