
बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका–८ का ४६ वर्षीय सुरेन्द्र बोहरा आफ्नी छोरीसँगै कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी भएका छन्।
डिलाशैनी मावि मल्लादेहीमा कक्षा सातबाट नियमित रुपमा पढाई गर्दै आएका सुरेन्द्र आफ्नी छोरीसँगै कक्षा ८ को परीक्षामा सम्मिलित भएका विद्यालयका प्रधानाध्यापक विरेन्द्र रतोकीले जानकारी दिए। सुरेन्द्रकी १४ वर्षीया छोरी डम्मरा बोहरा पनि कक्षा ८ को परीक्षा दिइरहेकी छन्।


उनीसँगै डम्मरका बुवा पनि परीक्षामा भएका प्रधानाध्यापक रतोकीले बताए। डिलाशैनी माविको केन्द्र रत्न आधारभूत विद्यालय रतनपुरमा तोकिएको छ। पुर्चौंडीमा शुक्रबारदेखि कक्षा ८ को नगरस्तरीय बोर्ड परीक्षा सञ्चालनमा छ।
डिलाशैनी माविमै कार्यालय सहयोगीको रूपमा कार्यरत बोहराले शिक्षा ग्रहण गर्न उमेरले नछेक्ने बताए। कक्षा ५ सम्म अध्ययन गरेका बोहराले जसरी पनि कक्षा ८ को परीक्षा उत्तीर्ण गर्ने लक्ष्य लिएका छन्।
आधारभूत तहसम्मको शिक्षालाई संविधानले नै अनिवार्य गरेकाले आफूले विद्यालयमा भर्ना भएर पढाई थालेको बोहराले बताए। बोहराको शिक्षा प्रतिको लगावले नयाँ पुस्ताका लागि प्रेरणा दिएको प्रधानाध्यापक रतोकीको भनाइ छ।
