
काठमाडौं: राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ। प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन्।

उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौँ,’ उनले भनेका छन्।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शनका क्रममा फोहोर गरेको र र्यालिङ भाँचेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो। उक्त प्रदर्शनमा सहभागी अर्को दल राप्रपा नेपाल र आफूलाई अभियन्ता भन्दै आएका राजावादी दुर्गा प्रसाईंका समर्थकहरू पनि सहभागी थिए। तर, महानगरपालिकाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई मात्रै जरिवाना गराएको थियो।
