
बाजुरा: पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको भीरबाट लडेर मृत्यु भएका व्यक्तिको शव उठाउन गएका आठ जनाको सकुशल उद्धार गरिएको छ।
आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो।


भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ जना स्थानीयसहित सुरक्षाकर्मी रातभर भीरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएको र र्याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
उनीहरूलाई स्थानीय र प्रहरीले आज बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए।
उनका अनुसार आइतबार राति भीरबाट लडेर एक जनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै बास बसेको बताए।
माछा मार्न गएका बेला भण्डारी हाँडे भीरबाट लडेका हुन्। मृतकको कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
