Skin_Hospital_Dhn

बैतडीमा अवैधरूपमा फार्मेसी सञ्चालन, नियमन गर्न जिल्ला प्रशासनले गर्‍यो पत्राचार

बैतडी ।
बैतडीका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा नियम विपरीत फार्मेसी सञ्चालनमा रहेको पाइएको हो ।

जिल्लाका विभिन्न स्थानमा धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई पत्राचार गरेको छ ।

अनुगमनका क्रममा मेडिकहरुले अनुमति नलिइ औषधि बिक्री गरेको, स्वास्थ्यकर्मीको प्रेस्किप्सनबिना कडा खालका मानव स्वास्थ्यमा असर गर्ने औषधिसमेत बेचबिखन गरेको, फार्मेसी सञ्चालक आफैले चिकित्सा सम्बन्धी अभ्यास गर्ने गरेको, आयुर्वेदिक फार्मेसीबाट एलोपेथिक तथा एलोपेथिक फार्मेसीबाट भेटेनरी औषधिसमेत बेचबिखन गर्ने गरेको पाइएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ले स्थानीय तहको क्षेत्रमा सञ्चालनमा रहेका फार्मेसीको अनुगमन, निरीक्षण र नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिएकाले नियमबमोजिम कार्य गराउन आग्रह गरिएको प्रजिअ सुरेश पन्थीले जानकारी दिए।

फार्मेसी सञ्चालन गर्दा औषधिको आयात, सञ्चय, बिक्री वितरणका लागि सम्बन्धित निकायबाट अनुमति लिए नलिएको बारे अनुगमन गर्ने अधिकार स्थानीय सरकारको भएकाले सो जानकारी गराइएको हो । फार्मेसी सञ्चालकले साइनबोर्ड सबैले देख्ने गरी राख्नुपर्ने, इजाजत प्राप्त व्यक्तिबाट मात्रै औषधि बिक्री गर्नुपर्ने, म्याद गुज्रेका औषधि अलग्गै राख्नुपर्ने, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री गर्न नहुनेलगायत नियम पालना गराउनुपर्ने प्रशासनले पालिकालाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित
Loading...