
धनगढी: ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई पूर्वराष्ट्रिय फुटबल खेलाडी बेनी खड्काले सहयोग गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ७ गते आयोजना गर्ने अवार्ड कार्यक्रमलाई खड्काले सहयोग गरेका हुन्।
पूर्व राष्ट्रिय खेलाडी खड्का सामाजिक कार्यमा पनि सक्रिय छन्। राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीको सम्मान कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको खड्काले बताए। उनले अवार्डको निरन्तरता र सफलताको कामना पनि गरे।


यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रर्वद्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९ र १३ ले प्रर्वद्धकका रुपमा साथ दिन सम्झौता गरिसकेका छन्। यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ। धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ।
छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिनेछ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ।
