
काठमाडौँ: नेपाल साफ यू–१९ च्याम्पियनशिपमा घरेलु टोली भारत रहेकै समूह ‘बी’ मा परेको छ।
आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाचल प्रदेशमा तेस्रो संस्करणको साफ यू–१९ च्याम्पियनशिप हुँदै छ। सो च्याम्पियनशिपका लागि मंगलवार काठमाडौँमा भएको ड्रमा नेपाल आयोजक भारतको समूहमा ‘बी’ मा परेको हो।


यो साफमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन्। नेपालको समूहमा भारतसँगै श्रीलंका पनि रहेको छ। अर्को समूह ‘ए’मा बंगलादेश, भुटान र माल्दिभ्स छन्।
सन् २०२३ मा नेपालमा नै भएको साफ यू–१९ च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो। समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
लिगकम नकआउटका आधारमा हुने यो साफमा कुल ९ खेल हुनेछन्। सबै खेल अरुणाचल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा हुनेछन्। सन् २०२४ मा भने यू–२० साफ च्याम्पियनशिप भएको थियो।
