
धनगढी: सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले तत्काल राजनीतिक नियुक्ति परिपूर्ति गर्ने निर्णय गरेको छ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको बैठक सो निर्णय गरेको हो। बैठकमा कांग्रेस–एमालेबीच राजनीतिक नियुक्तिमा भागबण्डा गर्ने पनि सहमति भएको बताइन्छ।

त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिइएको छ।

सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिने प्रादेशिक अस्पतालका अध्यक्षहरूको कार्यकाल सकिन केही समय मात्र बाँकी छ। यस्तै, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानमा पनि पदहरु रिक्त हुुँदैछन्। नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सहमतिका आधारमा राजनीतिक नियुक्तिका पदहरूमा भागबण्डा गर्नेछ।
बैठकमा प्रदेश सरकारको कामलाई अझ सशक्त बनाउने, जनताको प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयारी गर्नेलगायतका विषयमा पनि छलफल भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको अध्यक्षतामा बसेको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो।
बैठकमा एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललगायतका नेताहरू सहभागी थिए।
