
काठमाडौं: यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन्।
उनलाई शुक्रबार कप्तान नियुक्त गरिएको हो। टोलीमा रहेका अनुभवी फाफ डु प्लेसिस र केएल राहुलको पनि नाम चर्चामा रहिरहँदा तेस्रो चर्चित नाम अक्षरलाई कप्तानको जिम्मेवारी दिइएको हो। अक्षर भारतका अनुभवी बाँयाहाते अलराउण्डर हुन्।

सन् २०१९ को संस्करणदेखि नै दिल्लीको टोलीसँग आबद्ध रहेका अक्षरलाई गत नोभेम्बरमा भएको मेगा अक्सनमा १६ करोड ५० लाख भारुमा रिटेन गरिएको थियो। उनको कप्तानी अनुभव धेरै नभए पनि उनलाई यसै वर्ष जनवरीमा भारतको टी-२० टोलीको उप-कप्तान बनाइएको थियो।

३१ वर्षीय अक्षरले आफ्नो घरेलु टोली गुजरातलाई विभिन्न फर्म्याटमा २३ खेलमा नेतृत्व गरेका छन्। हालै उनले २०२४-२५ को सैयद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीमा कप्तानी गरेका थिए।
उनले गत सिजनको आईपीएलमा बेंगलुरुसँगको खेलमा दिल्लीको कप्तानी गरेका थिए। नियमित कप्तान रिषभ पन्तले लगातार स्लो ओभर रेटका कारण कप्तानबाट प्रतिबन्ध व्यहोरेपछि अक्षरले जित्नैपर्ने खेलमा दिल्लीको कप्तानी गरेका थिए जुन खेलमा पराजित भएको थियो।
मेगा अक्सनका बेला रिषभलाई रिलिज गरेपछि दिल्ली कप्तानको पनि खोजीमा थियो। अक्सनमा किनिएका केएल राहुल कप्तान बन्ने चर्चा रहेपनि उनले कप्तानी नलिने निर्णय लिएको खबर पनि बाहिर आइरहेका थिए।
अक्षरले दिल्लीका लागि ६ सिजनमा ८२ खेल खेलेका छन्। गत सिजन उनले करिब ३० को औसतमा २३५ रन बनाएका थिए भने ७.६५ इकोनोमी रेटमा ११ विकेट लिएका थिए। भारतले गतवर्ष टी-२० विश्वकपको उपाधि जित्दा अक्षर पनि मुख्य सदस्य रहेका थिए जहाँ फाइनलमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए।
