
धनगढी ।
छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आज (सोमबार) भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले बागमती क्लबलाई २–१ ले पराजित गरेको छ ।
धनगढी रंगशालामा आज (सोमबार) भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो ।

मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे । यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ४१ औं मिनेटमा बागमतीका लागी सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो । मनाङका लागि खेलको ६६ औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ ।
अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ । प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।
