
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा सञ्चालित सीप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारी संस्था लिमिटेड धनगढीले बिना धितो ऋण दिने भएको छ।
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारी संस्थाले बिना धितो ऋण दिने भएको हो। संस्थाका अध्यक्ष देबबहादुर बमसहितको टोलीले तालिम लिँदै गरेकाहरूसँग व्यवसाय गर्न नवजीवनले ऋण सहयोग गर्ने बताएको छ।


उक्त सहकारी संस्थाले समूहमा ऋण लिनेहरूका लागि धितो आवश्यक नपर्ने बताएको हो। तर, व्यक्तिगत रूपमा ऋण लिनेहरूका लागि भने धितो आवश्यक पर्ने सहकारीले बताएको छ। अध्यक्ष बमले सिप तथा मेलामा तालिम लिँदै गरेकाहरूसँग बिना धितो ऋण दिन सकिने बताए।
धनगढी उपमहानगरपालिका क्षेत्रका प्रशिक्षार्थिहरूलाई एक समूह बनाउने र कर्मचारी नै मेलामा पठाइर ऋणको प्रक्रिया सुरु गर्ने उनले बताए। धनगढीको नवजीवन सहकारीमा ३८ दशमलव ९ प्रतिशत महिलाहरु छन्। महिलाहरूले समूहगत रूपमा ५० हजारदेखि माथि ऋण सेवा लिन सक्ने सहकारीले बताएको छ।
नवजीवन सहकारी संस्था २०४८ सालको माघमा १४ जनाले कचत कोषको रूपमा स्थापना गरेका थिए। एक लाख ३० हजार पुँजीबाट नवजीवन २०५० साल वैशाख १५ गते सहकारी ऐन, २०४८ अनुसार दर्ता भएको हो। २०५० साल मङ्सिर ३० गतेबाट कारोबार सुरु गरेको नवजीवन सहकारीका ३३ हजार बढी शेयर सदस्यहरू छन्। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गरेर १० वटा शाखा तथा सेवाकेन्द्रहरू छन्।
सहकारीले चार सय ३७ करोड निक्षेप सङ्कलन गरेको छ भने, चार सय चार करोड बढी कर्जा लगानी गरेको छ। अध्यक्ष बमले किसानहरूबाट धान खरिद गर्ने र चामल उत्पादन गरेर बिक्रीको काम पनि सुरु गरेको बताए।
