
धनगढीः कैलालीको गोदावरी नगरपालिका–८ जमुनाभाणीकी अरुणा चौधरीले घरमै नेपाली नागरिकता प्राप्त गरेकी छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहितको टोली मंगलबार बिहान ३७ वर्षीया पूर्ण अपाङ्गता भएकी चौधरीको घरमै पुगेर नागरिकता प्रदान गरेको हो।


अरुणाका बाबु जीतबहादुर चौधरीका अनुसार जन्मिँदा उनी सामान्य थिइन्, तर ५/६ महिनाको उमेरमा गम्भीर बिरामी परेपछि पूर्ण रूपमा अपाङ्गता भइन्। उनी बोल्न, हिँड्न वा कुनै काम गर्न सक्दिनन्। बाबु-आमाले उनलाई उठाएर मात्र घरभित्र बाहिर गराउने गर्छन्।
अरुणालाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म लैजान असम्भव भएकाले उनका बाबु जीतबहादुरले केही दिनअघि आफ्नै नागरिकताको प्रतिलिपी लिन जाँदा प्रशासनलाई समस्या सुनाएका थिए।
त्यसपछि प्रमुख जिल्ला अधिकारी हमालको नेतृत्वमा शाखा अधिकृत शिवराज जोशी र तेजबहादुर पार्कीको टोली उनको घरमै पुगेर नागरिकता प्रदान गर्ने निर्णय गरेको थियो। घरमै नागरिकता पाएपछि अरुणाका बुवा जितले खुसी व्यक्त गरेका छन्।
