
दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा जानकी टमटा निर्वाचित भएकी छन्।

अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएकी टमटा दार्चुलाकै पहिलो दलित महिला हुन्। मालिकार्जुन गाउँपालिका– ८ कै स्थानीय बासिन्दा समेत रहेकी टमटा सानैदेखि राजनीतिमा चासो राख्ने गरेको उनकी आमा मानमती टमटाले बताइन्।

उनकी आमा मानमती २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्। आमाकै प्रेरणाबाट आफू विद्यार्थी राजनीतिबाट स्ववियुको अध्यक्ष पदमा निर्वाचित भएको टमटाले बताइन्। स्नातक तह दोस्रो वर्षमा अध्ययनरत टमटा निडर भएर आफ्ना विचारहरू व्यक्त गर्ने सक्ने क्षमताकी छन्। उनी विकृति र विसंगतीविरुद्ध प्रष्ट रूपमा बोल्दै आएकी छन्।
माओवादी आन्दोलनले पछाडि परेका र पारिएका वर्ग समुदायको उत्थान र विकासमा निकै महत्त्वपूर्ण भूमिका खेलेकाले आफू माओवादी विचारधाराको आन्दोलनमा सहभागी हुँदै आएको उनले बताइन्। आफ्नो नेतृत्वमा शंकरपुर क्याम्पसका विभिन्न शैक्षिक समस्याहरूको समाधानका लागि पहल गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गराउन काम गर्ने उनको प्रतिबद्धता छ।
