
काठमाडौं: भारतीय क्रिकेट टोलीका पूर्व स्पिनर हरभजन सिंह आईपीएल २०२५ मा कमेन्ट्रीको कारण विवादमा परेका छन्।
यो मामिला आइतबार खेलिएको सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको खेलसँग सम्बन्धित छ।


यस खेलमा, इङ्गल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चरले राजस्थान रोयल्सका लागि १८औं ओभर बलिङ गरे। त्यस क्रममा इशान किशन र हेनरिक क्लासेन पिचमा ब्याटिङ गरिरहेका थिए।
आर्चरको दोस्रो र तेस्रो बलमा क्लासेनले लगातार चौका प्रहार गर्दा हरभजन सिंहले उनलाई लन्डनमा चल्ने कालो ट्याक्सीसँग तुलना गर्दै टिप्पणी गरे।
उनले भने, ‘लन्डनमा कालो ट्याक्सीको मिटर छिटो चल्छ, र यहाँ आर्चरको मिटर पनि छिटो चलिरहेको छ।’
हरभजनको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहलाई आईपीएल २०२५ को कमेन्ट्री प्यानलबाट हटाउन माग गरेका छन्।
