
धनगढी ।
छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ प्रवेश गरेको छ । धनगढी रंगशालामा आज (मंगलबार) भएको खेलमा नेपाल पुलिस क्लवलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिम–११ ले अन्तिम चारमा स्थान बनाएको हो ।
सुदूरपश्चिम–११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रीक गरे । सुदूरपश्चिम–११ का लागि सुरुवाती पाचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए ।


खेलको ३० औं मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । उनले दोस्रो हाफमा ५१ औं र ६३ औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रीक गरे । उनले खेलकै ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते । नेपाल पुलिसका खेलाडीले आजको खेलमा थुप्रै अवसरहरु पाए पनि गोल गर्न सकेनन् ।
अब सुदूरपश्चिमले थ्री स्टार क्लवसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १६ गते हुनेछ । प्रतियोगिता अन्तर्गत बुधबार मनाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लवले पहिलो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
