
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिए तीन वर्षभित्र समस्या समाधान हुने बताएका छन्।

भूमि समस्या सामाधान आयोग कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको आयोगका कामसम्बन्धी स्थानीय तहका पदाधिकारीहरूको अभिमुखीकरणमा मुख्यमन्त्रीले प्रदेश सरकारलाई भूमिसम्बन्धी अधिकार प्राप्त भए समस्या चाँडै समाधान गर्ने बताए।

मुख्यमन्त्री शाहले एकैठाउँमा अधिकार भएका कारण समस्या भएको उल्लेख गर्दै संघीय सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिए।
उनले संघीयतासँग जोडिएका कानुन तत्काल बन्नुपर्ने र त्यसो भएमा प्रदेश सरकारलाई विविध समस्या समाधान गर्न सहज हुने प्रस्ट पारे।
