Skin_Hospital_Dhn

क्षयरोगका कारण बैतडीमा १३ जनाको मृत्यु

बैतडी: क्षयरोगका कारण बैतडीमा १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरी १३ जनाको मृत्यु भएको हो।

यो वर्ष चार जना थप क्षयरोगी पत्ता लागेसँगै जिल्लामा बिरामीको सङ्ख्या १०२ जना पुगेको छ। ९८ जना पुराना र यो वर्ष थप चार जना गरि १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ।

‘खोकी न सोकी क्षयरोग पो हो कि?’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँगाउँ पुग्न थालेका छन्। सामुदायमा क्षयरोगका बिरामी भएपनि आफैँ उपचारमा नआँउदा क्षयरोगी पत्ता लगाउनु टोली परिचालन गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको उजले बताए। क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने गरेको छ। क्षयरोगीले ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने स्वास्थ्यकर्मी बताउँछन्।

लगातार दुई हप्तासम्म खोकी लाग्नु, छाती दुःखेर श्वास फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षणदेखिएमा क्षयरोग हुन सक्छ भन्ने मान्यता रहेको छ। पछिल्लो समय खोकी न सोकी क्षयरोग पो हो कि? भन्ने मान्यताअनुसार क्षयरोग पत्ता लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए।

पुर्चौडी नगरपालिका र सूर्नया गाउँपालिकामा क्षयरोग मुक्त कार्यक्रम सञ्चालन भइरहेको स्रोत व्यक्ति जयसिंह बडालले बताए। उपकरणसहित स्वास्थ्यकर्मीको टोली परिचालन भएर रोगी पत्ता लगउने काम भइरहेको उनले बताए। एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उनले बताए।

सम्बन्धित
Loading...