
बाजुरा: जिल्लाको बूढीगंगा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई बिहीबार नेपाली नागरिकता प्रदान गरेका हुन्।
उनलाई पहिल्यैदेखि नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी जटिलताका कारण नसकिएको वडाअध्यक्ष रमेश रावलले बताए। उनका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनले नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो।


वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए। नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छन्। आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले दिइन्।
‘वडाध्यक्षकै कारण मैले आज नागरिकता पाएँ’, नेपालीले भनिन्। उनको श्रीमान् बितेको २२ वर्ष भएपनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट वञ्चित भएकी थिइन्।
नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पूरा गरी आज नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।
जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ।
