Skin_Hospital_Dhn

आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा गरी मनाइदै

काठमाण्डौ ।
आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैँ हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ।

शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् ।

वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र खासै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनीलगायत पीठमा आज विशेष पूजा हुन्छ । त्यस्तै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन विशेष पूजा गरिन्छ । काठमाण्डौ उपत्यकाबाहिरका शक्ति पीठमा पनि आज पूजा तथा मेला लाग्ने गर्छ ।

सम्बन्धित
Loading...