
धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनपछि नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्।


प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्बाट पास गरि कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने गरी आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन्।
सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ। तर, मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए।
अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी मन्त्री चौधरीको छ। उनले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारवाही भोग्न तयार रहेको बताए।
