
म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १६ सयभन्दा बढी पुगेको छ। तर त्यहाँ सडक, पुल लगायतमा भएको भौतिक क्षति, सञ्चार अवरुद्ध साथै उपकरणहरुको अभावका कारण उद्दारमा कठिनाई भइरहेको छ।
भूकम्पले पुरानो राजधानी तथा एतिहासिक दोस्रो ठूलो सहर मण्डलेलाई तहसनहस बनाएको छ। करिब १५ लाख जनसंख्या रहेको यो सहरमा सर्वाधिक ठूलो क्षति भएको जनाइएको छ। तर त्यहाँको सेनाको सत्ताले उद्दारलाई कम प्राथमिक्ता दिएको भन्दै आलोचना भएको छ। उसले अहिले पनि प्रजातन्त्र समर्थक विद्रोहीमाथि हवाई आक्रमण जारी राखेको छ।

सन् २०२१ मा सत्तामा आएको म्यानमारको सैन्य सरकारले चार वर्षदेखिको गृहयुद्धका कारण विद्रोही समूहहरू र सैनिक शासनविरोधी प्रतिरोधी बलहरूसँगको संघर्षपछि देशको ठूलो भागमा नियन्त्रण गुमाइसकेको छ।
यद्यपि शुक्रबारदेखि उद्धार कार्य जारी रहेको छ र अन्तर्राष्ट्रिय सहायता देशमा प्रवेश गर्न थालेको छ, तर सबैभन्दा प्रभावित क्षेत्रमा अझै मद्दत पुगेको छैन। स्थानीय बासिन्दाहरू आफैं नांगो हातको सहयोगमा भग्नावशेष हटाएर बाँचेकाहरूको उद्दार गर्ने प्रयासमा देखिएका छन्।
सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएका भिडियोहरूमा दुई जना पुरुषले भग्नावशेष हटाएर दुई ठूला कङ्क्रिटका च्यापिएका एक युवतीलाई निकाल्ने प्रयास गरिरहेको देखिन्छ। स्थानीयहरूले भग्नावशेषभित्रबाट मानिसहरूले कराउँदै सहायता मागिरहेको बताएका छन्।
मण्डलेको १२ तल्ले अपार्टमेन्ट भत्किएको करिब ३० घण्टा पछि उद्धारकर्ताहरूले एक महिलालाई जीवितै उद्धार गर्न सफल भए। तर रेडक्रसका अनुसार सो भवनमा अझै ९० भन्दा बढी मानिस फसेका हुनसक्छन्।
नजिकैको एउटा टाउनशिपमा अधिकारीहरूले एउटा बाल विहार रहेको भवनको भग्नावशेषमुनि १२ जना साना बालबालिका र एक शिक्षकको शव फेला पारेका छन्। विद्धयालय भवनहरु र ठुला अपार्टमेन्टहरुमा हजारौं पुरिएको अनुमान गरिएको छ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता निकाय (ओसीएचए) का अनुसार, सबैभन्दा ठूलो सहर याङ्गुन, राजधानी नेपिदा र मण्डले जोड्ने मुख्य राजमार्गमा चिरा परेका र सतह भासिएका कारण यातायातमा गम्भीर अवरोध उत्पन्न भएको छ।

त्यस्तै घाइतेहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरूको पनि चरम अभाव देखिएको छ। जसमा आकस्मिक उपचार किट, ब्लड, बेहोस पार्ने औषधि, अत्यावश्यक औषधिहरू र स्वास्थ्यकर्मीका लागि पालहरू समेत अभाव रहेको छ।
अन्यत्र, उद्धारकर्मीहरूले भग्नावशेषभित्र जीवनका संकेतहरू सुन्ने प्रयास गरिरहेका छन्। एक उद्धारकर्मीले भने, ‘हामीले कोही बाँचिरहेको सुनेपछि मात्र उद्धार गर्न सक्छौं।’
उपकरणको अभावले उद्धार कार्य निकै ढिलो भइरहेको छ। बीबीसीका अनुसार उद्धारकर्मीहरुलाई उद्दार सामाग्रिको अभाव देखिएको छ। एक उद्दारकर्ताले भने ‘हामीसँग भएका उपकरणहरूकै भरमा उद्धार गरिरहेका छौं। विद्यालय भत्किएर च्यापिएकी एक बालिकालाई बाहिर निकाल्न घण्टौँसम्म प्रयास गरिरहेका छौं।’
अर्का उद्दार कर्ताले भने ‘सबैभन्दा ठूलो समस्या भनेको हामीसँग इन्टरनेट छैन, फोन लाइनहरू काम गरिरहेका छैनन्। उद्धार टोली यहाँ आइपुगेको छ, तर फोन नचल्दा कहाँ जानुपर्ने हो भन्ने थाहा नै छैन।’
विद्युत् आपूर्तिमा आएको अवरोधले अवस्था झन् जटिल बनेको छ, र अधिकारीहरूका अनुसार बिजुली पुनः सञ्चालन गर्न केही दिन लाग्न सक्छ।
सैन्य सरकारको मुख्यालय रहेको नयाँ राजधानी नेपिदामा परकम्पहरू र साना भूइँचालोहरू गएका छन्। यस सहरमा पनि ठूला भवनहरू भत्किएका, सडकहरू भाँसिएका, र मृतकहरूको संख्या उच्च रहेको बताइएको छ।
सैन्य सरकारले अन्तर्राष्ट्रिय सहायता माग गर्दै दुर्लभ अपील गरे पनि उसले लडाइँ गरिरहेका सशस्त्र समूहहरूमाथि हवाई आक्रमण र ड्रोन हमलाहरू जारी राखेको छ।
बीबीसीका अनुसार उत्तरपूर्वी शान राज्यको नाउँगचोमा हवाई आक्रमणका कारण सात जनाको ज्यान गएको पुष्टि भएको छ। यो आक्रमण स्थानीय समयअनुसार दिउँसो ३:३० बजे भएको थियो, अर्थात् भूकम्प गएको तीन घण्टाभन्दा कम समयमानै उसले आक्रमण गरेको थियो।
सैन्य सत्ताविरुद्ध लडिरहेका प्रजातन्त्र पक्षधर विद्रोही समूहहरूले भूकम्पको केन्द्रबिन्दु सागाइङ क्षेत्रको चाङ-यू टाउनशिपमा हवाई आक्रमण भएको बताएका छन्। थाइ सीमासँग जोडिएका क्षेत्रमा पनि हवाई हमलाहरू भएको जनाइएको छ।
म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष मानवअधिकार प्रतिवेदक टम एन्ड्रयूजले सैन्य सरकारलाई बमबारी रोक्न आह्वान गरे। उनले भने ‘समस्या यो हो कि अहिले पनि सैन्य कारबाही जारी छ। तर यस्तो अवस्थामा अहिले जनतालाइ उद्दारको आवश्यक्ता छ।’ उनले थपे, ‘कृपया कुनै पनि सैन्य कारबाही नगर्नुस्। यो पूर्ण रूपमा अमानवीय र अस्वीकार्य छ।’
