Skin_Hospital_Dhn

चैते नवरात्र सुरु भएसँगै बैतडीका शक्तिपीठमा भक्तजनको घुइँचो

बैतडी: चैते नवरात्र आजदेखि सुरु भएको छ। नवरात्र सुरु भएसँगै बैतडीका विभिन्न ठाउँमा रहेका शक्तिपीठ तथा मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्न थालेको छ।

नवरात्रको समयमा शक्तिपीठ तथा मन्दिरहरूमा बलिसहित पूजाआजा हुने गरेको निङ्गलाशैनी भगवती मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए। बैतडीमा विशेष गरेर भगवतीका मन्दिरहरूमा यो नवरात्रमा पनि बलिसहित जात्रा हुने गरेको बताइएको छ।

यो नवरात्रलाई वासन्तिक नवरात्र भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। नवरात्रको पहिलो दिन आज शक्तिपीठ तथा मन्दिरहरूमा जमरा राख्ने चलन रही आएको छ। चैते नवरात्रलाई जेठो नवरात्रका रूपमा मान्ने गरिएको उनले बताए।

नवरात्र उपासनाको शुरुवात गर्नेहरुले यसै नवरात्रबाट उपासना सुरु गर्नुपर्ने उनले बताए। यो नवरात्रमा पनि शिव र शक्ति दुवैको पूजाआजा गर्ने चलन रही आएको छ। मन्दिरहरुमा जात्रा र नवरात्रका लागि तराईबाट पहाड आउनेहरुको संख्या समेत बढेको लेखकले बताए।

बैतडीका प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी भगवती मन्दिर, कफलाशैनी भगवती मन्दिर, फाल्ङाशैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा पूजाआजा शुरु गरिएको छ।

कतिपय शक्तिपीठ तथा मन्दिरहरुमा यो नवरात्रमा पनि जमरा राख्ने चलन रही आएको छ। यी शक्तिपीठहरुमा स्थानीय परम्परा अनुसार चैत्राष्टमी र अन्य तिथीहरुमा बलिसहित जात्रा हुने गरेको निङ्गलाशैनी भगवती मन्दिरमा पूजारी भट्टले बताए ।

यस्तै जिल्लामा रहेका सिगास, केदार, वासुलिङ्ग, शिवनाथ, उदयदेव, भूमिराज, दोगडाकेदारलगायतका मन्दिरहरूमा पनि नवरात्रको अवसरमा जमरा राख्ने चलन रही आएको छ। नवरात्रको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा दैनिक नित्य पूजापाठ गर्ने गरिएको आचार्य लेखकले बताए।

शक्तिपीठ तथा मन्दिरहरुमा चैते नवरात्रको समयमा पूजापाठका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन्। बसाइँसराइँ गरेर गएकाहरू पनि चैत नवरात्रको समयमा पुख्र्यौलीको थलोमा फर्कने गरेका छन्।

सम्बन्धित
Loading...