
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटे बाघ अझै नियन्त्रणमा आउन सकेको छैन।
बाघ नियन्त्रणमा आउन नसकेपछि वनकर्मी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण र सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका छन्। बाघले शुक्रवार राति हरिप्रसाद चौधरीको बाच्छोलाई मारेको थियो।


बाघ सिनो खान पुनः आएको बेला नियन्त्रणको प्रयास गर्ने टोलीको तयारी थियो। तर, दिनभरि गहुँबारीमा बसेको बाघ शनिवार राति सिनो खान नआएको डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेशकुमार यादवले बताए। उनले हिजो दिनभरि बसेको ठाउँबाट बाघ राति अन्यत्र सरेको जानकारी दिए। ‘आज ड्रोन उडाएर हेर्दा हिजो बसेको गहुँमा बाघ छैन’, उनले भने,“पुरानो ठाउँबाट अन्यत्र सरे जस्तो छ।’
शुक्रवार राति टेंढुवा गाउँ पसेको बाघ दिनभरि स्थानीय विमला चौधरीको गहुँवारिमा बसेको थियो। तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती नपुगेकाले नियन्त्रणमा लिइएन। हात्तीबिना बाघलाई डार्ट गर्न (लट्ठयाउन) जोखिमपूर्ण रहेकाले हिजो डार्ट नगरेको यादवको भनाइ छ।
उनका अनुसार बाघ बसेको ठाउँ वरिपरि चारैतिर मानव बस्ती छ। बाघ नियन्त्रणका लागि शुक्लाफाँटा निकुञ्जबाट शनिवार हिँडेको हात्ती अझै टेंढुवा पुगिसकेको छैन। हात्तीलाई राति बेलडाँडीमा बसाइएको थियो। आज पुगेपछि हात्तीको सहयोगमा बाघको खोजी गर्ने यादवले बताए।
तबसम्म स्थानीय सबैलाई सतर्क र सुरक्षित बस्न उनको आग्रह छ।
